Search This Blog

Sunday, May 17, 2015

राजधानीका आधा पसल अझै बन्द

काठमाडौ, जेष्ठ ३ - वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण खाद्यान्नबाहेकका सामानको माग र आपूर्ति ठप्प प्राय: भएको छ। खाद्यान्नका पनि ठूला पसल आधाभन्दा बढी खुलेका छैनन् भने अन्य उत्पादनको बिक्री ८५ प्रतिशतसम्म घटेको छ।
व्यवसायीका अनुसार भूकम्प प्रभावित क्षेत्रसँगै अन्य जिल्लामा पनि खाद्यान्न, कपडालगायत अन्य सामानमा असर परेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा वज्राचार्यले पनि भूकम्पको पराकम्पन जारी रहेकाले सबै खुद्रा पसल खुल्न नसकेको बताए। ‘विनाशकारी भूकम्प गएको २१ दिन बित्दा पनि पराकम्पन रोकिएको छैन। कतिपय व्यवसायीहरू त्रसित भएर जिल्लातिर गएका छन्। कतिपय भारत गएका छन्,’ उनले भने।
करिब ६० प्रतिशत स्थानीय खुद्रा पसलहरू खुलेको उनले बताए। संघका अनुसार खुद्रा पसल खुल्ने क्रम सुरु भए पनि होलसेल र रिटेलर पसलमा समस्या छ। होलसेल पसल नखुल्दा आपूर्तिमा समस्या देखिएको वज्राचार्यले बताइन्।
‘केही खाद्यान्न पसल खुले पनि ठूलो होलसेल र रिटेल पसल सञ्चालन नहुँदा आपूर्तिमा समस्या देखिन थालेको छ,’ उनले भने। सहज आपूर्तिका लागि होलसेल पसलहरू तत्कालै सञ्चालन गरिनुपर्ने उनले बताए। यसका लागि सम्बन्धित निकायले तीव्र अनुगमन गर्नुपर्ने जानकारहरू बताउँछन्।
वैशाख विवाहको लगनको सिजन भए पनि यससँग सम्बन्धित कारोबार बढ्न सकेको छैन। तर, भूकम्पका पराकम्पनका कारण व्यापार ठप्प भएको व्यवसायीहरूको दाबी छ। ‘वैशाख महिना कारोबार गर्ने सिजन हो। गत वर्ष दैनिक ४० किलोसम्म सुन खपत भएको थियो,’ सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, ‘अहिले लगनको सिजन हो। तर, व्यापार ठप्प छ।’
महासंघका अनुसार करिब १० प्रतिशत मात्रै गहना पसल खुलेका छन्। खुलेका पसलको पनि कारोबार हुन सकेका छैनन्। ‘उपभोक्ताहरू त्रसित छन्,’ उनले भने, ‘बिहेका लागि अर्डर दिएका सामान पनि लिन आएका छैनन्।’ व्यापार/व्यवसाय सामान्य बन्न करिब एक वर्ष लाग्ने उनले बताए।
यस्तै, वैशाख महिनामा गर्मी कपडाको माग उच्च हुन्छ। भूकम्पका कारण कपडाको बिक्री नभएको व्यवसायीहरू बताउँछन्। पराकम्पन नरोकिएकाले खाद्यान्नबाहेक अन्य वस्तुमा उपभोक्ताले चासो नदिएको उनीहरूको भनाइ छ।
‘उपभोक्ता बाहिर निस्किन डराएका छन्। व्यवसायीहरू पनि एकछिन खोलेर बन्द गर्ने गरेका छन्,’ नेपाल हिमालय वाणिज्य संघका पूर्वउपाध्यक्ष केशवबहादुर रायमाझीले भने, ‘अहिलेको अवस्थामा १५ प्रतिशत मात्रै पसल खुलेका छन्। ती पसलमा पनि राम्रो व्यापार हुन सकेको छैन।’
भूकम्पका कारण बाटो अवरुद्ध हुँदा अधिकांश सामान रोकिएको व्यवसायीहरूको गुनासो छ। भूकम्प जानुअघि गर्मी मौसमका नयाँ–नयाँ कपडालगायत विभिन्न सामग्री चीनबाट नेपाल पठाउन लागेका थिए। तर, बाटो अवरुद्ध हुँदा ती सामान बाटोमै रोकिएको व्यवसायीहरू बताउँछन्। ‘अहिले प्राय: गर्मीमा आउने सामान आउँछ। ती सामान खासा बजार हुँदै नेपाल भित्रिन्छ। ८ देखि १० अर्बका सामान चीनबाट हिँडेको छ,’ रायमाझीले भने, ‘तर, नेपाल भित्रिन सकेको छैन। बाहिर जाने सामान पनि पठाउन सकेका छैनौं।’
गर्मी सिजनको अन्त्यसँगै दसैं–तिहार पनि सुरु हुने भएकाले अहिलेको असर त्यसबेला देखिने व्यवसायीहरू बताउँछन्। ‘भूकम्पका कारण पहिरो गइराखेकाले तातोपानीसम्म जान सक्ने अवस्था छैन,’ उनले भने, ‘यसको असर दसैं–तिहारसम्म हुन्छ।’
यता, बजार अनुगमन र आपूर्ति व्यवस्थापनको जिम्मा पाएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भने अत्यावश्यक वस्तुमा अनुगमन केन्द्रित गरेको दाबी गरेको छ। ‘अहिले मुख्यत: जस्तापाता, पाल, दाललगायतमा उपभोक्ता ठगिने सम्भावना उच्च छ,’ विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘अनुगमन सोही क्षेत्रमा केन्द्रित गरेका छौं।’ जस्तापाता निर्यात रोक्नलाई पनि पहल गरिरहेको उनले बताए।
अनुगमनका क्रममा ६ व्यवसायी (४ औषधि पसल, १ रेस्टुरेन्ट सञ्चालक र १ जस्तापाता सञ्चालक)लाई कालोबजारी ऐनअनुसार कारबाही गरेको छ। यस्तै, १७ होटेल/पसललाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको विभागले जनाएको छ।
विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले विभिन्न वस्तुमा ठगी भएको जानकारी पाए पनि ठोस प्रमाण नहुँदा कारबाहीका लागि समस्या भएको बताए। ‘ठगी भएको भन्ने मौखिक जानकारी पाउने गरेका छौं,’ उनले भने, ‘प्रमाणसहित उजुरी गरे दोषीलाई कडा कारबाही गर्छौं।’

No comments:

Post a Comment