Search This Blog

Sunday, May 17, 2015

अर्थतन्त्रमा गम्भीर धक्का, वित्तीय सन्तुलन कायमै


काठमाडौं : महाभूकम्पले अर्थतन्त्रमा गम्भीर धक्का पुगेको छ। तर, सरकारले वित्तीय स्रोत परिचालन गर्नसक्ने क्षमता भने गुमाएको छैन। अर्थमन्त्री डा. रामशरण महतका अनुसार वैशाख १२ गतेको महाभूकम्पले अर्थतन्त्रमा गम्भीर धक्का पुगेको छ।

'तर सरकारसँग आन्तरिक वित्तीय स्रोत परिचालन गर्न सक्ने क्षमता भने अझै छ', उनले भने, 'यसका कारण वित्तीय सन्तुलन भने कायमै छ।'

महाभूकम्पले पर्यटन, कृषि, सेवाक्षेत्र, बाह्य व्यापार, बैंक आदिलाई धक्का दिएको बताउँदै अर्थमन्त्रीले यो गम्भीर प्राकृतिक चुनौतीलाई नवनिर्माणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

अर्थविद् प्रा. डा. विश्वम्भर प्याकुरेलका अनुसार पछिल्ला वर्षमा अर्थतन्त्र र आन्तरिक ऋणको अनुपात साह्रै कम भएकोले सरकारसँग आन्तरिक स्रोत परिचालन गरेर खर्च गर्ने क्षमता अझै छ।

'लम्बिँदो राजनीतिक संक्रमणले विगतका वर्षहरूमा सरकारले विकास खर्च गर्न सकेको थिएन', प्याकुरेलले भने, 'सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएको कारण आन्तरिक ऋ ण उठाउन आवश्यक पनि परेन।'

पछिल्ला १५ वर्षमा नेपालको आन्तरिक ऋण तथा कुल गार्हस्थ उत्पादनको अनुपात ४८.८९ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा २० प्रतिशतको हाराहारीमात्रै रहेको भन्दै उनले सरकारले हाल दोब्ब्र आन्तरिक ऋण उठाएर स्रोत परिचालन गर्न सक्ने अवस्था रहेको बताए।

उनका अनुसार आन्तरिक ऋण तथा कुल गार्हस्थ उत्पादनको अनुपात ४० प्रतिशतसम्म हुँदा अर्थतन्त्रमा वित्तीय सहजता रहेको मानिन्छ।

नेपाल राष्ट्र बैंकले विभिन्न समयावधिका बचतपत्र निकालेर उक्त रकमलाई भौतिक संरचना पुनर्निर्माणमा प्रयोग गर्न सकिने बताउँदै उनले पहिला देशभित्रैको स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए।

'हाल आन्तरिक रूपमा नै स्रोत परिचालन गर्न सकिने प्रशस्त आधार छ', उनले भने। सरकारको ढुकुटीमा हाल करिब ८० अर्ब रहेको भन्दै प्याकुरेलले सरकारले आफ्नो बचत पनि परिचालन गर्नुपर्ने बताए।

उनका अनुसार सरकारले बजारमा पैसा खर्च गर्दा निजी क्षेत्रलाई पनि खर्च गर्न प्रोत्साहित गर्छ। 'यसरी महाभूकम्पले गम्भीर धक्का लागेको अर्थतन्त्र चलायमान बनाउन सकिन्छ', प्याकुरेलले भने।

यस्तै, महाभूकम्पले राजस्वमा प्रभाव पार्ने तथा चालु आर्थिक वर्षको राजस्वको लक्ष्य नपुग्ने पक्का छ। करिब ३० अर्बको राजस्वको लक्ष्य नपुग्ने अनुमान गर्दै अर्थविद् प्याकुरेलले महगीं पनि बढ्ने बताए।

यस्तै अर्थतन्त्र चार प्रतिशतमा सिमित रहने भन्दै उनले सरकारले जति छिटो पुन: निर्माणमा खर्च गर्न सुरु गर्छ त्यति नै छिटो अर्थतन्त्र चलायमान हुने पनि बताए। 

No comments:

Post a Comment