Search This Blog

Tuesday, May 12, 2015

महाविनाशले सिकाएको पाठ


Ramesworiवैशाख १२ गतेको मध्याह्नमा आएको महाविनाशकारी भूकम्पले ताण्डव मच्चाउँदा भएको धनजनको क्षतिबाट आज पूरै देश शोकमा डुबेको छ। हजारौंको ज्यान लिंदै लाखौंलाई घरबारविहीन बनाएको भूकम्पले धनी, गरिब कसैलाई पनि छोडेन। परिवार र आफन्त गुमाउनुको पीडा त छँदैछ, त्यसमाथि पनि बस्ने बाससमेत नभएर पालमुनिको जीवन विताइरहेकाहरू कसले खान देला भन्ने आस र अब के होला भन्ने त्रासमा बाँच्न विवश छन्। महाविनाश खेपेर, देखेर बाँचेकाहरूको मानसिक अवस्था सामान्य हुन सकेको छैन। 

त्यसमाथि पनि दिनहुँ पटकपटक आइरहने भूकम्पका धक्काहरूले झनै त्रसित बनाइरहेको छ। त्यसो त अचेल जतिबेला पनि घर हल्लिएको महसुस भइरहनु सामान्य भएको छ। 

अरू त अरू राति सुतेको बेला आफ्नै मुटुको ढुकढुकीले पनि पलङ हल्लाएको महसुस हुन्छ र घरीघरी भूकम्प आयो भन्दै तर्सेर उठ्ने बानी परेको छ। 

बराबर आइरहने भूकम्पका धक्काले मानसिक त्रास उत्पन्न गरेकाले पनि काम गर्न जाँगर नहुने, कसैसँग बोल्न मन नलाग्ने, रिस उठ्ने, सम्झना शक्ति हराउने, मुटु झस्किने, हातगोडा काँप्ने आदि लक्षणहरू यो पंक्तिकारलाई मात्र होइन प्राय: सबैमा देखिने गरेको छ। अझ यस्तो असर पुषहरूमा भन्दा महिलामा बढी देखिएको र बालक, किशोर तथा युवाहरूमा भन्दा बालिका, किशोरी तथा युवतीहरूमा बढी देखिएको छ। यो त्रासद मानसिकताबाट सामान्य अवस्थामा आउन लामो समय कुर्नुपर्ने नै छ। 

भूकम्पबाट विस्थापितहरूमध्ये महिलाहरू त्यसमा पनि युवती, किशोरी तथा बालिकाहरूको सुरक्षा अझ ठूलो चुनौती बनेर देखा परेको छ। सुरक्षित आवसको अभावमा खुला आकाशमुनि सामूहिक बासमा दिन गुजारेका यिनीहरूमाथि हुनसक्ने यौनहिंसाबाट जोगिनु र यिनीहरूलाई सुरक्षाको अनुभूति गराउन सक्नु त्यति सजिलो छैन किनकि सबै मानिसभित्र मानवताको धर्म रहेको हुन्छ भन्न सकिंदैन। अप्ठेरो परिस्थितिको फाइदा उठाउन खोज्ने तत्त्वहरू पनि यस्तो अवस्थामा सक्रिय रहेका हुन्छन्। यतिबेला विभिन्न पत्रपत्रिकाहरूमा पनि यस विषयमा आवाज उठिरहेको पाइन्छ। अत: यस विषयमा आम मानिसमा सचेतनाको जरी छ। 

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या हालसम्म आठ हजारभन्दा माथि भनिए तापनि अझै कैयौं बेपत्ता रहेकाले पनि यो संख्याले दस हजार नाघ्न सक्ने अनुमान लगाउन सकिन्छ। काठमाडौं उपत्यकाभन्दा पहाडी जिल्लामा धेरै मानिसको मृत्यु भएको छ। जसको मुख्य कारण भूकम्पको केन्द्रविन्दु र पहिरो भए तापनि घर भत्केर पुरिनेको संख्या पनि कम छैन। पहाडका घरहरू वर्षौं पुराना मात्र होइन बनावट नै कमजोर भएका हुन्छन्। ससाना ढुङ्गा र माटोको संयोजनबाट बनेका घर यति ठूलो भूकम्पबाट जोगिने कुरै हुँदैन। सहरमा भूकम्प प्रतिरोधी घरको अवधारणाको हल्ला चले तापनि गाउँघरतिर यसको हावासम्म पनि चलेको पाइँदैन। न विज्ञहरूले पहाडमा दृष्टि पुर्याउन सके न राज्यले 

नै यसमा ध्यान दिने फुर्सद पायो। अझ दु:खलाग्दो र विडम्बनापूर्ण कुरा त के छ भने पहाडमा भूकम्प आउँदा कसरी सुरक्षित हुने? भन्ने चेतना पुग्नै सकेन। पछिल्लो समयमा एनसेटले टेलिभिजन मार्फत् गर्ने गरेको चेतनामूलक विज्ञापन पहाडसम्म पुगेको भए यसले पहाडमा पक्कै भ्रम सिर्जना गरेको हुनसक्ने अनुमान लगाउन सकिन्छ। पहिलो कुरा त त्यहाँ भूकम्प आएमा कस्तो सावधानी अपनाउने भन्ने ज्ञान नै भएको देखिंदैन, दोस्रो भूकम्प आउँदा घरको दलिनमुनि या खाटमुनि लुक्नुपर्छ भन्ने कुराले सुरक्षा दिन सकेको देखिएन। ब भूकम्प आउँदा भाग्नु हुँदैन भन्ने सन्देशले गर्दा भूकम्प आउँदा घर बाहिर भएका मानिसहरू पनि बालबच्चा च्यापेर घरभित्रै पसेको कारण धेरै मानिस घरले पुरिएर मरेको कुरा सुन्नमा आयो। नत्र त दिउँसो आएको भूकम्पले पहाडमा घरले पुरिएर मान्छे मर्नु विडम्बनापूर्ण नै हुन्छ। 

सहरकै कुरा गर्दा उपत्यकामा दुई हजार बढी मानिसको घरले थिचेर ज्यान गयो। साना र कच्ची घरले भन्दा पनि ठूला र पक्की भनिएका घरले पुरिएर धेरैको ज्यान गयो। 

साना घरमा रहेकालाई छिमेकीका ठूला घर ढलेर पुर्यो। ठूलो भूकम्प आएमा असन, इन्द्रचोक जस्ता पुराना बस्तीमा बढी क्षति हुनसक्ने भन्ने विज्ञहरूको अनुमानभन्दा विपरीतका ठाउँमा नयाँ र कथित ‘पक्की’ भनिएका घरमा बढी क्षतिमात्र भएन, धेरै धनजनको क्षति भयो। यसबाट राज्य, नागरिक र विज्ञहरू सबैलाई ठूलो शिक्षा दिएको कुरालाई बेलैमा मनन गर्नु आवश्यक देखिन्छ। भूकम्प आफैले मान्छे मार्दैन। मान्छे त मान्छेले नै मार्नेरहेछ भन्ने कुरा आज काठमाडौ लगायतका सहरमा बनेका ठूल्ठूला भवन र घरहरू भत्केर मान्छे पुरिएर मरेपछि प्रस्ट भएको छ। पहाडमा ढुङ्गा–माटोले बनेका कमजोर घरहरू भत्केर मानिस पुरिनु र मर्नु अलग कुरा हो तर सहरमा ‘बलिया’ भनिएका घरहरू ढलेर हजारौं मानिस पुरिए। किन भत्किए नयाँ र पक्की भनिएका घरहरू? विपदको यस घडीमा यसको जवाफ खोज्नु पनि उत्तिकै जरी छ।

‘धर्मो रक्षति रक्षित:’ अर्थात् ‘धर्मको रक्षा गर, धर्मले तिम्रो रक्षा गर्नेछ’ भनेर हाम्रा महान् ऋषि मनिषिहरूले त्यसै भनेका होइनन्। यहाँ धर्म भनेको पूजापाठ गर्नु, मन्दिर, मस्जिद, गुम्बा र चर्चमा गएर माथा टेक्नु मात्रै होइन। धर्म भनेको त प्राणि मात्रको भलो गर्नु तथा सबैले जिम्मेवारीपूर्वक आ–आफ्नो कर्तव्य पालन गर्नु हो। सायद सबैले आ–आफ्नो धर्मको रक्षा गरेको भए यो विनाश यति ठूलो मात्रामा पक्कै हुने थिएन। 

उपत्यकाको भूक्षमताभन्दा बाहिर गएर मापदण्डविपरीत विशाल महल र टावर ठड्याउने पैसावालहरू, जसले जत्रा भवन ठड्याउन चाहे पनि कुनै अङ्कुसबिना अनुमति दिने राज्य, भवनको मजबुतीलाई भन्दा खल्तीको मजबुतीलाई ख्याल गर्ने ठेकेदार, इन्जिनियर अनि जति धेरै कोठा त्यति धेरै आम्दानी ठान्ने व्यापारी घरधनीहरू कसैले आफ्नो धर्म के हो भन्ने कुराको ख्याल राखेनन्। न त बडेबडे पहलमानहरूलाई सिमेन्टको विज्ञापनमा ठड्याएर गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने कम्पनीहरूले नै आफ्नो धर्मको ख्याल गरे न राज्यले ती कम्पनीबाट उत्पादित सिमेन्टको गुणस्तर नै जाँच्ने धर्म निर्बाह गर्यो। 

गुणस्तरीय उत्पादनमा भन्दा राजस्वमा चासो दिने राज्यसंयन्त्रले सुन्दर उपत्यकालाई कंक्रिटका गगनचुम्बी महलहरूमा रूपान्तरित हुनबाट रोक्ने धर्म निर्वाह गर्न सकेन र आज तिनै महलहरू मानव चिहानमा रूपान्तरित हुन पुगे।

किन व्यक्तिगत रूपमा बनेका साना घरहरूभन्दा व्यापारिक भवनहरूमा मानवीय क्षति बढी भयो भन्ने कुराको लेखाजोखा गरी यो क्षतिका जिम्मेवार सबैमाथि छानबिन र कारबाही गरिनु पनि उत्तिकै जरी छ। र अब पुनर्निर्माणका लागि राज्यले यथाशीघ्र उचित मापदण्डको निर्माण र पालना गराउनु  अत्यावश्यक छ। 

यो महाविनाशबाट पाठ सिकेर अबका दिनमा हरेकले आ–आफ्नो धर्मको रक्षा गर्नतिर लाग्ने हो भने मात्र त्यो धर्मले सबैको रक्षा गर्न सक्नेछ। इतिहासको यो अत्यन्त पीडादायी घटनाले मानव जगतलाई फेरि एउटा गतिलो पाठ पढाएर गएको छ।


No comments:

Post a Comment