Search This Blog

Wednesday, May 27, 2015

'इन्जिनियर' धुर्मुसको काम देख्दा सरकार जिल खायो

mainphoto
काठमाडौं : एक महिनाअघि नेपालमा भूकम्प जाँदा चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात ‘धुर्मुस सुन्तली’ अमेरिकामा थिए। अमेरिकाका विभिन्न सहरमा स्टेज कार्यक्रम गर्न गएका उनीहरुले भूकम्प गएको थाहा पाउनेबित्तिकै कार्यक्रम स्थगित गरेरे हतारहतार नेपाल फर्किए।

’२८ ओटा कार्यक्रम गर्ने योजना थियो, १० ओटा कार्यक्रम सम्पन्न भएका थिए’, टेलिभिजको पर्दामा आफ्नो चरित्र नाम धुर्मुसबाट चर्चित कट्टेलले पहिलोपोस्टसँग भने, ‘बाँकी कार्यक्रम क्यान्सिल गरेर नेपाल फर्कियौँ।‘

टेलिभिजनको पर्दामा चर्चित यो धुर्मुस सुन्तलीको जोडी बास्तविक जिन्दगीमा पनि पतिपत्नी हुन्। नेपाल फर्केलगत्तै यो जोडी भूकम्पप्रभावित गाउँका नागरिकको ओठमा हासो भर्न कस्सिए। तर समस्या बनिन् १४ महिनाकी छोरी।

‘छोरीलाई काठमाडौंमै दिदीभिनाजुलाई जिम्मा लगायौँ र गाउँ लाग्यौँ’, धुर्मुसले भने, ‘हाम्रो एकछिन घरमा बास नहुने भएपछि यही नै विकल्प बन्यो।‘

१४ महिनाकी छोरी काठमाडौं छोडेर करिब एक महिना गाउँ हिँड्न सजिलो थिएन। ‘विपत्तिले बालबालिकाको भविष्य अन्धकार बनाएको थियो। म छोरी छाडेर भूकम्प प्रभावित गाउँमा सेवा गर्दै हिँडे’, सुन्तलीले भनिन्, ‘गाउँमा बालबालिकाको स्कुल भत्किएका छन्, कापीकलम र झोला पुरिएका छन। पीडामा मह्लम लगाउन पायौँ।‘

गएको एक महिना उनीहरुले बिहान ४ बजेदेखि रातको ११ बजेसम्म गाउँमा श्रमदान गरे। उनीहरु आफूमात्र खटिएनन्, पुरै गाउँलेलाई आफ्नो अभियानमा समाहित गरे। राहत सँगै सरसफाइलाई जोडे। एउटा विद्यालय भवन बनाए। ४० वटा चर्पी बनाए। दुई सय ४० घरधुरी रहेको ओखरपौवा गाउँमा ८ घरमा मात्र चर्पी थिए। त्यतिमात्र होइन उनीहरुले दुई सय ५० भन्दा बढी विद्यार्थीलाई झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरे।

‘सरकारका मान्छे तीन बल्ड्याङ खाए’

धुर्मुस सुन्तलीको टोलीले स्कुल बनाएर उद्‍घाटन गर्न लाग्दा शिक्षा मन्त्रालयको टोली त्यहाँ पुगेछ। ‘उनीहरु सरकारले तोकेबमोजिम १७ गतेबाट स्कुल सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने बुझ्न त्यहाँ पुगेका रहेछन्’, धुर्मुसले पहिलोपोस्टसँग भने, ‘हामीले नयाँ स्कुल बनाएको देखेपछि उनीहरु तीन बल्ड्याङ खाए।‘

विद्यार्थी बस्न सक्ने भवन छ/छैन भन्ने अनुगमन गर्न इन्जिनियर रमेश सापकोटा सहितको ४ जनाको टोली त्यहाँ पुगेको थियो। 
‘मैले आफै खाल्डो खनेँ। कुन चुल्होमा के पाक्छ भन्ने देख्यौँ। मान्छेको जीवन देख्यौँ’, धुर्मुसले भने, ‘चर्पी बनायौँ। स्कुलको इन्जिनियर म आफै हो। हेर्नुहोला १० वर्ष त्यो स्कुल केही हुन्न। सबैजना एकजुट भएर काम गर्ने हो भने देश बनाउन समय लाग्दैन।‘

तर सहयोगका नाममा प्रचार ज्यादा भैरहेकोप्रति धुर्मुसले दुःख व्यक्त गरे। ‘खेतका आलीमा बसेर दुईटा इट्टा हाल्ने अनि फोटो खिचेर प्रचार गर्ने चलन छ’, उनले भने, ‘सहयोग बास्तविक पीडितसम्म पुग्नुपर्‍यो।‘  


विद्यालय र ४० चर्पी हस्तान्तरण

तामाङ समुदायको बाक्लो बसोबास रहेको नुवाकोटको ओखरपौवा गाविस ५ कुलेगाँउ र वडा नम्बर ६ ठूलेचित्रे गाँउमा गएको एक महिनाको श्रमदानबाट एउटा विद्यालय भवन र ४० चर्पी बनाएर धुर्मुसको टिमले समुदायलाई हस्तान्तरण गर्‍यो। सगुन डटकमको संयोजनमा धुर्मुस र सुन्तली सहितका कलाकारको टोलीले भूकम्पले भत्काएको नुवाकोटको चित्रे र कुले गाउँको महाकाली विद्यालयका लागि नयाँ भवन बनायो। सँगै गाउँलेका लागि ४० चर्पी पनि बनायो।

ठूलेचित्रे गाँउको महाकाली निमाविको ७ कोठे भवन भूकम्पले भत्काएको थियो। कक्षा कसरी सञ्चालन गर्ने भन्ने चिन्ता थियो। कलाकारको टोलीले जस्तापात, काठ र बाँसको ७ कोठे भवन र ४ वटा चर्पी बनाइदिएपछि विद्यार्थी, उनीहरुका अभिभावक र गाउँले खुसी थिए।

नयाँ निर्माण गरिएको विद्यालय भवनको सोमबार उद्‍घाटन गरियो। सरकारले १७ गतेबाट स्कुल लाग्ने भने पनि विद्यालयका प्रधानाध्यापक राम उदगार यादवले १२ गतेबाट नै स्कुल सुरु गर्ने घोषणा गरे।

‘भूकम्पपछि हामीसँग केही थिएन तर अब हामीसँग कापी, कलम र झोला छ’, प्रधानाध्याक यादवले भने, ‘अब भूकम्प आँउदैन, भोलिदेखि नै लगातार स्कुल आउँ।‘ धुर्मुसले पनि ‘मेरी बास्सै’ का खड्काजीको अभिनय गर्दै विद्यार्थीलाई स्कुल आउन हौस्याए। नयाँ कक्षाकोठा पाएपछि कक्षा ३ मा पढने वसन्ती तामाङ खुसी थिइन्।

‘चार दिनमा ४० चर्पी र ७ कोठे विद्यालय भवन बनाइयो। हरेक ठाँउमा स्थानीय जनसहभागिता सहित श्रमदान गर्ने हो भने मुलुक बन्न चार दिनभन्दा बढि लाग्दैन’, धुर्मुसले भने, ‘अहिलेको आवश्यकता प्रभावित बस्तीमै बसेर पीडितको मनोवल बढाउनु हो।‘

धुर्मुस सुन्तली टिम

धुर्मुस सुन्तलीको टिममा उनीहरु संलग्न मेरी बास्सैसँगै भद्रगोल, सगुन डटकम, ज्येष्ठ फाउण्डेसन पनि थिए। स्थानीय बासिन्दालाई सहभागी गराएर यी संस्थाले गरेको सहयोगबाट नुवाकोटको कुलेगाँउ र ठुलेचित्रेमा ४० वटा चर्पी, बाँसको भित्ता र टिनको छाना भएको ७ कोठे विद्यालय भवन निर्माण भएको हो।

धुर्मुस र सुन्तलीको जोडीसँगै चर्पी र विद्यालयको भवन निमार्णमा सहभागी हुन पाउँदा चर्चित कलाकार सुरवीर पण्डित (दारी बा) र भद्रगोलका कुमार कट्टेल (जिग्री) पनि खुसी थिए।

अभियानमा नुवाकोटको कुलेगाँउ र ठुलेचित्रेमा धुर्मुस र सुन्तलीसँगै मेरी बास्सैका सुरवीर पण्डित (दारी बा), गोपाल लामा (कार्की दाई), बुद्धी तामाङ (हनुमाने), बेगम नेपाली (भटभटे माईलो), विष्णु बुढाथोकी (स्पन्दन सहभागी थिए। यसैगरी भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमीरे (पाँडे), हरी निरौला (कक्रोजे), सागर लम्साल (बले) विकाशराज पाण्डे, सगुन डटकमका अखिल सिटौला, माधव चौलागाईँ, अजयबाबु शिवाकोटी र ज्येष्ठ फाउण्डेसनका जयराम सिग्देल लगायत ३० जनाको टोली सहभागी थियो।

सगुन डटकमका नेपाल प्रतिनिधि अखिल सिटौलाले चर्चित कलाकारको टीममा रहेर भूकम्पपिडितको राहतसँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्न पाउँदा खुसी व्यक्त गरे।  

फोटो सौजन्यः पत्रकार भावुक योगी

See more at: http://www.pahilopost.com/content/-4443.html#sthash.AA2nLsVg.dpuf

No comments:

Post a Comment