Search This Blog

Friday, May 15, 2015

अमेरिकी सेनाको हेलिकप्टर सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाडौं-मंगलबारको शक्तिशाली पराकम्पनबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागिजाँदा हराएको अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको छ । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर युएच वानवाई ह्यु हराएको चौथो दिन शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

शक्तिशाली पराकम्पनपछि ६ जना अमेरिकी र २ जना नेपाली सेना लिएर मंगलबार दिउँसो १: ५० मा त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सुनखानीमा पुगेपछि २: ३० बजेबाट सम्पर्कविहीन भएको थियो । हेलिकप्टर हराएलगत्तै नेपाली, भारतीय र अमेरिकी सेनाले संयुक्त रूपमा हवाई र स्थलमार्गबाट खोजी सुरु गरे पनि बिहीबारसम्म अवस्था खुल्न सकेको थिएन । शुक्रबार दिउँसो घनाजंगल रहेको सिन्धुपाल्चोकको घोर्थलीको ११ हजार २ सय फिट अग्लो स्थानमा टुक्राटुक्रा भएको अवस्थामा हेलिकप्टर देखिएपछि हराइरहेको दुर्घटना पुष्टि भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर फेला परेको स्थान सिन्धुपाल्चोक र दोलखा दुवैतिरको मानवबस्तीबाट दुई घन्टाको पैदल दुरीमा रहेको दुर्गम हिमाली खर्क हो । हेलिकप्टरको अवस्था र दुर्घटना भएको स्थानका आधारमा अग्लो डाँडोमा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालिए पनि विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।


सैनिक जनसम्पर्क निर्देशनालयद्धारा शुक्रवार जारी विज्ञप्ती अनुसार पैदल फौजले जानकारी दिएपश्चात् दुर्घघटनास्थलमा नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टरमा गएको टोलीले दोलखाको कालिन्चोक डांडाको उत्तरपूर्वी दिशातर्फ ११ हजार २ सय फिटको उचाईमा रहेको सिन्धुपाल्चोकको घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला परेको थियो । हेलिकोप्टरमा भुकम्पछि खोजी, उद्धार राहतमा नेपाललाई सघाउन आएका ६ जना अमेरिकी सेना र २ नेपाली सेनाका अधिकृत थिए । घटनास्थलमा हेलिकोप्टरको भग्नावशेष मात्रै देखिएको र तीनवटा शब फेला परेको जनाइए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।


दुर्घटना क्षेत्रलाई सेनाले आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएको छैन । दुर्घटना भएको हुनसक्ने सम्भावित क्षेत्रका खोजीका लागी पैदलै गएका जिल्लाका सैनिक अधिकृतहरुलाई समेत सो स्थानमा जान दिइएको छैन । स्रोतका अनुसार दुर्घटनास्थलमा गएर समाचार सम्प्रेशण गर्न हेलिकोप्टर लिएर पुगेका अन्तराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीलाई दोलखाको सदरमुकाम चरिकोटबाट बाहिर जाने अनुमती दिएको छैन ।


हेलिकोप्टरमा ८ जना रहेको पुष्टीगरे पनि उनीहरुको अवस्था र विवरण सार्वजनिक भएको छैन । सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले दुर्घटनास्थलले ६ वटा शव फेला परेको जानकारी दिँदै सो हेलिकोप्टरमा नेपाली सेनाका क्याप्टेन र जमदार परेको बताए। शुक्रबार पैदल टोली र हवाई टोली दुर्घटनास्थलमा उत्रिए पनि मौसम खरावीका कारण थप टोली उत्रिन नसकेको जानकारी दिँदै उनले शनिबार मौसम सफा भएपछि थप टोली पठाउने नागरिक न्युजसँग बताए।


आगो बालेर स्थानको पहिचान
सैनिक मुख्यालयका अुनसार हेलिकोप्टर सम्पर्कविहिन भएपछि अमेरिकन सेनाको सम्पर्क अधिकृतले २:४५ मा नेपाली सेनाको सम्पर्क अधिकृत मार्फत हेलिकोप्टरसँग सम्पर्क स्थापित गराउन आग्रह गरेका थिए ।
आग्रह अनुसार एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरसंग सम्पर्क स्थापित गर्ने प्रयास गरे पनि सफल हुन सकेन । हेलिकोप्टर सम्पर्कविहिन भएपछि सेनाले खोजी शुरु गरेको थियो । जनसम्पर्क निर्देशनालयका अनुसार हराएको हेलिकोप्टरको खोजीका लागी नेपाली सेनासँगै भारतीय वायु सेना र अमेरिकन सेनाको भि२२ ओस्प्रेको समेत प्रयोग भएको थियो ।


सेनाले स्थलमार्गबाट खोजीका लागी ४ सय पैदल परिचालन गरी तामाकोशी नदीदेखि दक्षिणतर्फ कोशी व्यारेजसम्मको ईलाकासम्म खोजी गरेको थियो । दोलखाको सुनखानीबाट सम्पर्क विहिन भएको हेलिकोप्टर खोजीका लागी दोस्रो दिन संयुक्त टोलीले हवाई मार्गबाट दोलखा, सिन्धुपाल्चोक, रामेछाप र त्यसका  नजिकका सम्भावित स्थान लक्षित गरी खोजी गरे पनि हेलिकोप्टरको अवस्थाबारे खुल्न सकेन ।
हेलिकोप्टर हराएको दोस्रो दिन दोलखाको सिंगटीमा रहेको विद्युत प्राधिकरणको निर्माणाधिन स्थानमा हेलिकोप्टर रहेको सरकारी अधिकारीबाटै जानकारी आए पनि आखिरमा सो सूचना गलत ठहरियो ।
विश्वस्तस्रोतका अनुसार बिहीबार बेलुका घोर्थलीका एक स्थानीयले स्थानीय सुरक्षा अधिकारीलाई हेलिकोप्टर देखेको बताएको सूचना सैन्य हेडक्वाटारमा आइपुगे पनि तत्काल विश्वास गरेनन् ।
ती स्थानीयले भुकम्प प्रभावित क्षेत्रमा खोजी र राहत वितरणमा गएको सुरक्षा टोलीलाई घोर्थलीतिर ठुलो आवाज सुनेको र रेडियोबाट हेलिकोप्टर हराएको समाचार थाहा पाएपछि शंका लागी आवाज आएको स्थाननिर पैदलै गएर हेर्दा हेलिकोप्टर र शबहरु देखेको बताएका थिए ।


स्रोतका अनुसार ती ब्यक्तिले बताएको स्थान समेत सम्भावित खोजीको क्षेत्र रहेकाले सेनाले बिहीबार बेलुका हवाई खोजी रोकेको थियो । शुक्रवार विहानै एक सैनिक अधिकारीले ती ब्यक्तिलाई दुर्घटनास्थलमा गएर आगो बाल्न आग्रह गरे । हेलिकोप्टरलाई स्थान पहिचानमा सहज बनाउन उनी विहान ८ वजे दुर्घटनास्थलमा गएर आगो बालेर बसेपछि सेनाको टोलीले स्थान पहिल्याएको थियो । Source: Nagarik News


No comments:

Post a Comment