Search This Blog

Thursday, May 14, 2015

गोरखामा गरियाे भूकम्पको अन्त्येष्टि

गोरखा, वैशाख ३१ - बारपाक केन्द्र बिन्दु भएको महाभूकम्पले देभभरि नै धनजनको क्षति गरेपछि गोरखा–९ मैलुङमा बिहीबार भुकम्पको अन्त्येष्टि गरिएको छ । पटक/पटकको कम्पनको त्रास हटाउन स्थानीयबासीले यस्तो जुक्ति निकालेका हुन् । 

भूकम्प भगाउन गाउँलेले भेला भएर परालको पुत्ला बनाएर अन्तेष्टि गरिएको स्थानीय कृष्ण अम्गाईले जानकारी दिए । ‘सधै भुकम्पको धक्काले त्रसित बनाउन थाल्यो’, उनले भने, ‘शंख बजाएर होहल्ला गरेर भुकम्प लखेटेका हौं ।’ 

अन्तेष्टिमा सहभागिले अबका दिनमा नेपालमा कहिल्यै भूकम्प नआओस् भनेर कामना गरेका थिए । स्थानीय सिर्जनशील महिला समूहको अगुवाईमा भएको भूकम्प अन्तेष्टिमा पुरुषहरु र बालबालिकाले पनि साथ दिएका हुन् । सहभागिहरुले ‘भूईचालो मूर्दावाद’ र ‘फेरि भूकम्प आउँदैन’ लेखिएको प्ले कार्ड बोकेका थिए । ‘मैलुङ पिपलबोटबाट भूकम्पको शव यात्रा सुरु गरेपछि लाकुरी भज्याङ हुँदै गाउँ परिक्रमा गरेर पिपलबोटमा नै अन्तेष्टि गरेका हौं,’ उनले भने ।

भूकम्पको प्रतीकको रुपमा बनाइएको पुत्ला बाँसमा राखेर महिलाहरुले बोकेका थिए । एकोहोर शंख फुकेर पुरुषहरुले साथ दिएका हुन् भने बालबालिकाले नाराजुलुश गरेका थिए । बालबालिका बढी आतंकित भएकाले उनीहरुको मनोबल बढाउन प्रतीकका रुपमा भूकम्पलाई जलाएको स्थानीयबासीहरुले बताएका छन् । 

बैशाख १२ को महाभुकम्पले बुङकोट गाविसमा पनि ठुलो क्षति पुगेको थियो । मैलुङमा मात्रै १५० घरमा क्षति पुगेको थियो । दुईजना घाईते भएका थिए । गोरखा जिल्लामा ४१४ जनाको निधन भएको छ भने करिब ३० हजार घाइते भएका छन् । ५८ हजार घर र सयौं भौतिक सरकारी संरचनामा क्षति पुगेको छ ।

No comments:

Post a Comment